बढ्दै महिला हिंसा

रोल्पा – घरेलु हिंसाका कारण घरमा बस्न नसकेर माइतीको शरणमा पुगेकी बिकमतीलाई त्यहाँ पनि सजिलो भएन। सुनार (दलित)सँग बिहे गरेर बिटुलो भएको भन्दै माइतीले घरभित्र पस्न दिएनन्। ‘दुई छोरीसहित माइतीको गोठमा बसेकी छु। कहिलेकाहीँ छोरीहरू झुक्किएर घरभित्र छिरे भने सुनपानी छर्केर चोख्याउँछन्,’ छुवाछुतको पीडामा रहेकी बिकमतीले भनिन्, ‘अंश पाए छोरी हुर्काउने थिएँ।’ बुद्धि बिग्रिएर सानैमा बिहे गर्नुको परिणाम भोगिरहेको उनले बताइन्।

लुङग्री गाउँपालिका–६ गुम्चालकी ३३ वर्षीया बिकमती रोका क्षेत्रीले १४ वर्षको उमेरमा छिमेकी गाउँ हार्जङका दलित युवासँग बिहे गरिन्। १५ वर्षको उमेरमा छोरा जन्माएकी उनका ५ सन्तानमध्ये अहिले २ छोरी मात्र बाँकी छन्। ‘जेठो छोरा १७ वर्षको उमेरमा गतवर्ष झुन्डिएर मरेको हो। कान्छो छोरा जन्मेको दुई महिनामा म¥यो,’ बिकमतीले भनिन्, ‘जन्मिएको ८ महिनामा अर्की छोरी पनि मरी। छोरी मर्दा लोग्ने घरै आएनन्।’

पतिसँग सम्बन्ध बिग्रिएपछि दुई वर्षयता घर न घाटकी बनेकी बिकमती न्यायको खोजीमा सदरमुकाम लिवाङ आएकी छन्। लोग्नेले कुटपिट गरेको भन्दै छोडपत्रका लागि सदरमुकाम आएको उनले बताइन्। ‘पति र सौताले पिट्ने मात्र गर्छन्,’ उनले भनिन्, ‘मलाई मात्र नभएर छोरीलाई पनि पिट्ने गरेपछि न्याय माग्न यहाँ आएकी हुँ।’

दुई वर्षअगाडि जनप्रतिनिधिले वडा कार्यालयमा ६० हजार रुपैयाँ भराएर बिकमतीको छोडपत्र गराएको भए पनि गाउँलेले आधिकारिक नभएको भनेपछि जिल्ला प्रहरी कार्यालय आएकी उनले वकिलमार्फत निवेदन लेखाउन लागेको बताइन्। ‘गाउँमा छोडपत्रको कागज गरेपछि पतिले अर्को बिहे गरे। छोरीलाई पाल्ने खर्च भन्दै ६० हजार दिएका थिए,’ उनी भन्छिन्, ‘त्यो बेला नियमकानुन थाहा भएन, अब अंश दाबीसहित अदालत जाँदै छु।’

पति र सौताका कारण घरमा टिक्नै नसकेपछि माइती पुगेकी उनलाई सुरुसुरुमा त्यहाँ गरिएको छिः छिः र दुर्दुर्ले कुम्लो बोकेर जंगल पस्ने अवस्था बनायो। उनले भनिन्, ‘अति भएपछि कुम्लो बोकेर जंगल जान्थें त्यहीँ बस्थें। त्यही भएर घरकाले मानसिक समस्या भएको भन्दै झनै हेला गरे।’ उनले आफू मानसिक बिरामी नभएको बताउँदै समस्याले गर्दा केही समय जंगलमा बस्न बाध्य बनाएको बताइन्। उनले थपिन्, ‘अति पीडा हुँदा सोचाइ पनि कस्तो कस्तो हुने रैछ।’

देशमा राजनीतिक परिवर्तनसँगै सामाजिक परिवर्तनसमेत भएको दाबी गरिरहँदा दुर्गम जिल्ला रोल्पामा जातीय विभेद र घरेलु हिंसाका डरलाग्दा घटना बाहिर आउन थालेका छन्। बालविवाह, घरेलु हिंसा, जातीय छुवाछुत, लैंगिक विभेदजस्ता सामाजिक अपराधले आज पनि गाउँबस्तीलाई गाँजेर राखेको छ। सामाजिक कुरीतिका रूपमा रहेका विभेदपूर्ण व्यवहारले कतिपय रोल्पाली आज पनि कष्टकर जीवन भोग्न बाध्य भइरहेका हुन्।

बिकमतीजस्ता धेरै रोल्पाली आज पनि बालविवाह, घरेलु हिंसा, जातीय छुवाछुत, लैंगिक विभेदजस्ता सामाजिक अपराधको जालोमा बेरिएका छन्। स्थानीय सरकारलाई भौतिक विकासमा फुर्सद नभएपछि सामाजिक विकास ओझेल परिरहेको छ। साउनयता मात्रै जिल्ला प्रहरी कार्यालय रोल्पामा ६९ वटा घरेलु हिंसाका उजुरी परेका छन्। सामाजिक हिंसाका ४, घरेलु हिंसा भएको भन्दै सम्बन्ध विच्छेदका लागि १६ जना आएकोमा उनीहरूलाई अदालत पठाइएको तथ्यांक छ।

बालविवाह, घरेलु हिंसा, जातीय छुवाछुत, लैंगिक विभेद जस्ता सामाजिक अपराधका घटना बढ्दै गएकोप्रति अधिकारकर्मी पनि चिन्तित छन्। ‘रोल्पामा सामाजिक अपराधका घटनाहरू बढी छ। यी घटनाहरूले समाजलाई विकासक्रममा पछाडि पार्छ।’ अधिकारकर्मी खेम बुढा भन्छन्, ‘यस्ता प्रकृतिका समस्या समाधानका लागि स्थानीय सरकारले चासो दिएका छैनन्, जसले गर्दा स्थिति थप जटिलतातर्फ गईरहेको छ।’

विकास भनेको सडक विस्तार मात्र बुझेका स्थानीय सरकारले आज पनि सामाजिक अपराध न्यूनीकरण, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पशुपालनजस्ता विषयमा लगानी गरेका छैनन्। साथै जनप्रतिनिधि यस्ता विषयमा छलफलसमेत गर्दैनन्। बालविवाह, अत्यधिक मदिरा सेवनजस्ता गतिविधिले समाजमा विकृति ह्वात्तै बढेको छ।

Source: nagariknews.com

You can share this post!