सामाजिक सञ्जाल सञ्चालक कोरोनाप्रति सतर्क, ट्विटरले कर्मचारीलाई भन्यो- घरबाटै काम गर्नुस्

काठमाडौं। कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सामाजिक सञ्जाल ट्विटरले हङकङ, जापान, दक्षिण कोरियास्थित कार्यालयहरूमा कार्यरत कर्मचारीलाई घरै बसेर काम गर्न निर्देशन दिएको छ।

 
चीनबाट फैलिन सुरु भएको कोभिड-१९ को जोखिमप्रति सतर्कता राख्ने उद्देश्यले कम्पनीले यस्तो सूचना दिएको जनाएको छ। कम्पनीले कोभिड-१९ संक्रमण दर उच्च देखिएका संसारका बिभिन्न मुलुकका कार्यालयमा कार्यरत पाँच हजार कर्मचारीलाई तत्काल कार्यालय नआउनका लागि सूचना जारी गरेको छ। यो सँगै कम्पनीले अनावश्यक व्यापारीक भ्रमण र कार्यक्रम गर्न पनि रोक लगाइएको जनाएको छ।

‘हामी भित्र र संसारभर कोभिड-१९को असरलाई न्यूनिकरण गर्नु नै हाम्रो मुख्य उद्देश्य हो। यसले हाम्रो लागि ठूलो परिवर्तन सिर्जना गर्नेछ। हामीले विश्वबजारमा आफ्नो सेवा दिँदै आएका छौं र जुनसुकै क्षेत्रमा रहेका कर्मचारीहरुलाई काम गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जाहेर गर्दछौं,’ कम्पनीका मानव संसाधन विभागका प्रमुख जेनिफर क्रिस्टीले भनेका छन्।

 
एजेन्सीका अनुसार गुगल र फेसबुकले आयोजना गर्न लागेको वृहत सम्मेलन रद्द गरिसकेको छ भने ए एण्ड टी टेलिकम सञ्चालकले अन्तर्राष्ट्रिय भ्रमण रद्द गरिसकेको छ। हालसम्म कोभिड-१९ को संक्रमणले एसिया, अमेरिका, युरोप, मध्यपूर्व क्षेत्रमा तीन हजार जनाको मृत्यु भइसकेको छ। संक्रमणबाट जोगिन सावधानीका सूचना दिएपनि त्रास फैलाउने संदेश आदानप्रदान भइरहेको प्रति भने सामाजिक सञ्जालमा कडाइ गर्ने विषयमा पनि सम्बद्ध अधिकारी समीक्षामा जुटेका छन्।

Source: bizmandu.com

You can share this post!