निरंकारी सन्त समागम कार्यक्रम सम्पन्न!

२०७६।०१।२० गते, निरंकारी सन्त समागम सम्पन्न: सन्त निरंकारी मण्डल नेपालको आयोजनामा काठमाण्डौको हरिसिद्धीमा आज(शुक्रबार) सद्गुरु माता सुदिक्षा जी महाराजको प्रमुख आतिथ्यमा निरंकारी सन्त समागम सम्पन्न भएको छ ।
माता सुदिक्षाजी महाराजले हरेक मानव प्राणीमा एउटै परमात्माको ज्योति(आत्मा) देखेर सबैलाई बराबर सम्मान दिनुपर्ने बताउनुभयो । उहाँले संत निरंकारी मिशनले धर्म नभई मनलाई परिवर्तन गराउने भएकोले सोही अनुसार कार्य गर्न पनि निरंकारी श्रद्धालुहरुलाई आग्रह गर्नुभयो । 
जसरी धेरै फूलहरु भएको थुंगा(गुलदस्ता)को धेरै नै सुन्दरता हुन्छ ठीक त्यसैप्रकार धेरै भाषा, संस्कृतिका मानिसरुपी फूलहरुको गुलदस्ता(थुंगा)ले यो संसार सुन्दर हुन्छ । 
ब्रम्हज्ञानीले अरुको कुभलो हुने कुरा मनमा सोच्न पनि नहुने बताउँदै अरुको भलाक्ष्ई हुने कार्यमा लाग्नुपर्ने बताउनुभयो ।
संसारमा जन्मिएर आफूलाई जलाउनेमा नभई शितलता प्रदान गर्नेमा उभ्याएमा मात्र संसार सुन्दर बन्न सक्ने बताउँदै क्रोधले अरुलाई नोक्सान पुर्याउनुभन्दा पहिले आफ्नै जिभ्रोलाई गलाउने र कानलाई जलाउने गर्दछ भन्नुभयो ।
वेदशास्त्रहरुमा पनि मानिसको जन्मजन्मको कुरा उल्लेख गरिएको छ भने त्यस्ता अनेकौं जन्मको चक्रब्यूहबाट मुक्ति पाउन ब्रह्मज्ञान हुनु आवश्यक भएको कुरा पनि उल्लेख गरिएको उहाँले बताउनुभयो । 

चिरिबाबु महर्जन


यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले माताजीको स्वागत गर्दै अभिनन्दन पत्र समेत चढाउनुभयो । उहाँले मानिसहरुलाई सत्मार्गमा लगाउनको लागि आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु भइरहनु पर्ने बताउँदै ललितपुरमा माताजीको आगमनले सबैको कल्याण होस् भन्ने भावना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा महात्मा रमित चानना जी (दिल्ली) स.नि.म. नेपालका अध्यक्ष नरबहादुर रावल, उपाध्यक्ष कृष्ण पन्थ, सचिव अनिल महर्जन, केन्द्रीय सदस्य रामाशंकर शाह, सेवादल सञ्चालक बाबुराजा महर्जन लगायतते विचार प्रस्तुत गर्नुभयो । यस्तै मण्डलका महान गीतकार जगत जी(दिल्ली), मानसिंह जी, हृदय गणेश लगायतले भक्तिमय भजन प्रस्तुत गर्नुभयो ।
कार्यक्रमको वीचमा लघु कवि दरबार समेत भएको थियो । डीपी दर्शन र विवेक रफिक जीले गजल तथा मेघलाल डांगी, राजन रेग्मी र चञ्चल मिश्रले कविताको माध्यमबाट आध्यात्मिक चेतना प्रवाह गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन मण्डलका कोषाध्यक्ष कृष्णकन्हैया पाठक र सहसचिव नरबहादुर बि.के.ले गर्नुभएको थियो ।
यसअघि बिहीबार निरंकारी माताजीले निरंकारी सत्संग भवनको शिलान्यास गर्नुभएको थियो । भूमिगत पार्किङ सहितको तीन तलाको उक्त सत्संग भवनको क्षेत्रफल दुईहजार छ सय १९ वर्गमिटर रहनेछ । पहिलो तलामा सत्संग भवन र दोस्रो तलामा मण्डलको कार्यालय रहने उक्त भवनको लम्बाई ७७ फिट र चौडाई ४७ फिट रहने मण्डलका अध्यक्ष नरबहादुर रावलले बताउनुभएको थियो । कार्यक्रमका केही झलकहरु,

दुर्गा भण्डारी

You can share this post!