पुस २४ काठ्माण्डौ : गर्भमा छोरी रहेको थाहा पाएपछि भु्रण हत्या हुने क्रममा वृद्धि भएपछि त्यसलाई रोक्नका लागि महानगरपालिकाले पहिलो पटक नांया अभियान चलाएको छ । विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप रकम प्रदान गरेको थियो ।
हिजो महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको छ । पहिलो र दोस्रो सन्तान छोरी जन्माउने चार दम्पत्तिका नाबालक छोरीका नाममा महानगरपालिकाले ग्लोबल आइएमी बैंकमा खाता खोलेर रु २५ हजार जम्मा गरिदिएको छ ।
महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । चालू आवमा यो कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । “छोरीलाई दहेज होइन, उच्च शिक्षा देऊ” भन्ने उद्देश्य लिएर यो कार्यक्रम प्रारम्भ गरिएको थियो । महानगरपालिकाले पहिलो सन्तान छोरी जन्माउने २३ दम्पत्तिलाई नगद रु तीन हजार प्रोत्साहन रकम प्रदान गरेको थियो भने दोस्रो छोरीको उमेर १८ वर्ष पुगेपछि अक्षय कोषमा जम्मा गरेको रकम झिक्न सक्ने गरी बच्चाका आमालाई संरक्षक बनाएर रकम जम्मा गरेको थियो । महागरपालिकाले प्रदान गरेको प्रोत्साहन रकम भत्ता लिनका लागि आमाको उमेर २० वर्ष पूरा हुनुपर्ने, गर्भको बेला कम्तिमा तीन पटक स्वास्थ्य जाँच अनिवार्य गरेको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ ।