चीनसँग ताइवानको पुनःएकीकरण अपरिहार्यः राष्ट्रपति सी जिनपिङ

१८ पुस : चीनका राष्ट्रपति सी जिनपिङले चीनसँग ताइवानको पुनः एकीकरण अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले ताइवानलाई स्वतन्त्र मुलुक बनाउने कुनै पनि प्रयत्न आफूहरुलाई स्वीकार्य नहुने बताउँदै विषम परिस्थितिमा सैनिक शक्ति पनि प्रयोग गर्न चीन पछि नपर्ने चेतावनी दिनुभयो । 

चीनसँग ताइवान पुनः एकीकरण भएपनि चीनले लोकतान्त्रिक ताइवान होस् भन्ने चाहेको राष्ट्रपति सीले स्पष्ट गर्नुभयो । सन् १९४९ मा चीनको मुख्य भूभागमा गृहयुद्ध समाप्त भएदेखि नै चीन र ताइवानमा अलग अलग शासन व्यवस्था छ । 

“चीनसँग ताइवान एकीकरण हुनै पर्दछ, र त्यो अवश्य हुनेछ । नयाँ युगमा चीन र ताइवानमा बाँडिएर रहेका चिनीया जनतामा पुनर्जीवन दिनु आवश्यक छ,” सीले भन्नुभयो । राष्ट्रपति सीले सन् १९७९ मा ताइवानलाई एकीकरण र सैनिक विवाद अन्त्य गर्नेगरी सन्देश पठाएको ४०औं वर्षगाँठका अवसरमा उक्त विचार व्यक्त गर्नुभएको हो । 

बेइजिङमा आयोजित समारोहमा राष्ट्रपति सीले एकीकरण गर्दा “एक देश, दुई प्रणाली” अन्तर्गतकै विधिमा हुने बताउँदै यसले ताइवानी जनताको सरोकार र भलाईको सुरक्षा हुने स्पष्ट गर्नुभयो । 

तर, ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम राष्ट्र मान्दछ । ताइवानको आफ्नै मुद्रा छ, राजनीतिक र न्यायिक प्रणाली छ । ताइवानले आजसम्म चीनबाट अलग भएर औपचारिक रुपमा स्वतन्त्र र सार्वभौम राष्ट्र भएको घोषणा गरेको छैन । 

ताइवानमा नयाँ राष्ट्रपति चाई इङ–वेन निर्वाचित भएदेखि अर्थात् २ वर्षदेखि चीनसँग ताइवानको सम्बन्ध चिसिएको छ । राष्ट्रपति चाईले “एक चीन” नीतिसम्बन्धी चिनीया अवधारणाको विरोध गरिरहनुभएको छ । 

मङ्गलबार मात्र, राष्ट्रपति चाईले ताइवानका जनताले चिनीया अधिनायकवाद भोग्नु नपरेको बरु निर्वाध स्वतन्त्रता अनुभव गरिरहेको बताउनुभएको छ । बेइजिङले दुई करोड ३० लाख ताइवानीले उपभोग गरिरहेको स्वतन्त्रता र लोकतन्त्रलाई सम्मान गर्नुपर्छ भन्दै राष्ट्रपति चाईले दुबै देशबीच रहेका मतभिन्नताको समाधानका लागि शान्तिपूर्ण र समानतालाई मुख्य आधार लिनुपर्छ भन्नुभयो । 

ताइवानको राजनीतिक प्रणाली र नागरिक समाजमा विद्यमान मतभिन्नतालाई सामान्यीकरण गर्न चीनले “एक मुलुक, दुई प्रणाली” नीति अघि सारेको छ । यही नीति सन् १९९७ मा बेलायतबाट फिर्ता भएको हङकङमा कार्यान्वयनमा आएको छ । 

तर केहीको विचारमा हङकङमा नागरिक स्वतन्त्रतामा आएको ह्रासले ताइवानमा नकारात्मक असर पर्न थालेको छ । “चीनले हङकङलाई विस्तारै हडप्न थालेको छ, र यो राजनीतिक रुपमा मात्र नभई सांस्कृतिक र आर्थिक रुपमा पनि मुखरित हुन थालेको छ,” हङकङका लोकतन्त्र पक्षधर महिला सांसद क्लाउडिया मोले बताउनुभयो । 

हङकङ र मकाउमा नागरिक स्वतन्त्रता कसरी गुम्दैछ भन्ने देखेका ताइवानीले चीनको कुनै पनि प्रस्ताव सहजै स्वीकार्ने सम्भावना कमै रहेको उहाँको भनाइ छ । 

तर कतिपयको भनाइमा ताइवान विस्तारै चीनभित्रै समाहित हुनेछ । 

“जनताको मन एकैदिन परिवर्तन हुन सक्दैछ, तर मेरो विचारमा एक मुलुक, दुई प्रणाली निकै उपयुक्त छ । एकीकरणको कार्यले एक, दुई, वा तीन पुस्ता लिनसक्छ,” हङकङमा निर्माण पेशामा आबद्ध ५५ वर्षीय लामले बताउनुभयो । 

गत अक्टोबरमा लाखौं ताइवानीले स्वतन्त्र राष्ट्रको नारा लगाउँदै सडक प्रदर्शनमा सहभागी भएका थिए । ताइवानमा २० वर्षअघि मात्र लोकतन्त्र बहाली भएको थियो । 

तर केही ताइवानीले चीनसँगको सम्बन्धमा आएको दरारले व्यापार व्यवसायमा असर परेको बताएका छन् । अर्थतन्त्रमा आएको मन्दीले निवृत्तीभरणमा कमी भएको छ भने सार्वजनिक विदामा कटौती गरिएको छ । तलबमा समेत बृद्धि नहुँदा जीवन गुजारामा असर परेको छ । 

गत वर्ष, ताइवानको सत्तारुढ दलले मध्यावधि चुनावमा नराम्रो हार व्यहोर्नु परेको थियो । चाईले सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीको नेताबाट राजीनामा दिनु परेको थियो । चीन विरोधी मानिएको मुख्य विपक्षी दल कुनमिनताङले भने चुनावमा निकै राम्रो नतिजा ल्याएको थियो । 

बेइजिङले पछिल्ला वर्षहरुमा अन्तर्राष्ट्रिय मञ्चमा ताइवानको उपस्थितिलाई कमजोर बनाउन हरसम्भव उपाय अबलम्बन गरेको छ । ताइवानसँग कूटनीतिक सम्बन्ध रहेका केही मुलुकले चीनको अनुरोध र प्रभावमा कूटनीतिक सम्बन्ध तोडेका छन् । 

चीनले कतिपय ठूला कम्पनीका वेबसाइटमा ताइवानलाई चीनको अभिन्न अङ्गका रुपमा राख्न सफलतापूर्वक दबाब दिएको छ । 
रासस/एएफपी

You can share this post!