फिलिपिन्समा आँधीबाट २२ जनाको मृत्यु

१६ पुस : फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् । बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी रहेको छ । 

आँधीले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ । सरकारी अधिकारीहरुले आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन गएको बताएका छन् । 

नागरिक रक्षा कार्यालयका अनुसार अधिकांश मानिसको मृत्यु भूस्खलन र डुबेर भएको छ । स्थानीयवासीको शब्दमा “उस्मान” भनिने यस आँधीको बेग कमजोर हुन थालेको छ । 

“अधिकांश प्रभावित क्षेत्र जलमग्न भएको छ । हामी मानिसको उद्धारका लागि सेना र रबर डुङ्गा पठाउँदैछौं । केही ठाउँमा त बाढी मानिसका घरको छानासम्म पुगेको छ,” बिकोलमा नागरिक रक्षा कार्यालयका प्रमुख क्लाउडियो यूकोटले बताउनुभयो । 

उहाँका अनुसार बिकोलमा १६ जना र पूर्वी भिसायासमा ६ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । 

आँधी आउनुअघि नै २२ हजारभन्दा बढी मानिस घर छाडेर अन्यत्र सुरक्षित स्थानमा गएका थिए । आँधीले धान र मकैबालीमा व्यापक क्षति गरेको छ भने केही सडक र पुल भत्किएका छन् । 

सरकारी मौसम पूर्वानुमान शाखाले उत्तरी फिलिपिन्समा २४ घण्टाभित्र ठूलो वर्षा हुने बताएको छ । 

फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा सामुद्रिक आँधी आउने गर्दछन् । यी आँधीका कारण हरेक वर्ष सयौं व्यक्तिको मृत्यु हुनुका साथै लाखौं मानिसलाई गरिबीको दुस्चक्रमा पु¥याउँछ । 

सन् २०१३ मा आएको शक्तिशाली हाइयान आँधी अहिलेसम्म सबैभन्दा ठूलो भएको अनुमान गरिएको छ । यो आँधीबाट सात हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । –
(रासस/एएफपी)

You can share this post!