इतिहासकै सबैभन्दा बढी पर्यटक

काठमाडौँ, १ पुस : बि. सं २०७४/७५ को ११ महीनामै करिब १० लाख भन्दा धेरै विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन। यो नेपाली पर्यटन इतिहासकै सबैभन्दा बढी पर्यटक आवागमन हो । वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सात वर्षपछि बल्ल पुरा भएको छ । पर्यटन क्षेत्रमा ठूलो उपलब्धिका रुपमा मानिएको पर्यटकको आगमनमा उल्लेख्य वृद्धिले नेपालको समग्र पर्यटन क्षेत्रमा नयाँ उत्साह जगाएको छ ।

सरकारले सन् २०११ लाई ‘नेपाल पर्यटन वर्ष’ को रूपमा मनाएर वार्षिक १० लाख पर्यटक पुयाउने लक्ष्य लिएपनि सात लाख ३६ हजार २१५ पर्यटन नेपाल आएका थिए । त्यस्तै सन् १९९८ मा ‘भिजिट नेपाल’ अभियान चलाएर पाँच लाख पर्यटक भित्र्याउने उद्देश्य लिएकामा चार लाख ६३ हजार ६७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा हवाइ मार्गबाट आएका पर्यटक आवागमन हो । जुन अघिल्लो वर्षको ११ महीनाको तुलनामा १७ प्रतिशतले बढेको देखिएको छ । सन् २०१७ मा हवाइ मार्गबाट आउने पर्यटक मात्रै नौ लाख ४० हजार २१८ थिए । बोर्डले सबै हिसाबबाट हेर्दा १० लाखको हाराहारीमा पर्यटक आएको बताउने गरेको छ ।

पछिल्लो पर्यटक आगमनको उत्साहजनक वृद्धिले नेपालको पर्यटन क्षेत्रमा नयाँ आशा र यसले पर्यटन व्यवसायमा उत्साह जगाएको छ । अन्तर्राष्ट्रिय बजारमा समेत ‘स्केल अफ बिजनेश’ को रूपमा नेपाल गन्तव्य बनेको छ । विदेशी पर्यटन व्यवसायीलाई नेपाल गन्तव्य बनाउन बाटो खुलेको छ ।

छिमेकी मुलुक सबैभन्दा बढी भारतबाट दुई लाख ६० हजार १२४ पर्यटक आएका छन् भने चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । विवरणअनुसार नेपालमा सबैभन्दा बढी पर्यटक आउने मुलुक भारत र चीनपछि अमेरिका तेस्रो स्थानमा परेको छ । यो अवधिमा अमेरिकाबाट ८२ हजार ५५५ पर्यटक आएका छन् भने बेलायतबाट ५७ र जर्मनीबाट ३४ हजार पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् ।

सरकारको पर्यटनमैत्री वातावरण, पूर्वाधार विकासको तीव्रता र निजी क्षेत्रको हौसलाका कारण आगामी दिनमा सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्ष सार्थक हुनेमा व्यवसायी ढुक्क छन् । तर, पर्यटकको सङ्ख्यामा मात्रै नभई गुणस्तरीय पर्यटक अभिवृद्धि र गन्तव्य विस्तार तथा सेवा स्तरीकरणमा आम सरोकारको चासो हुनुपर्छ ।

You can share this post!