समाचार पढेर  विद्यालयलाई सहयोग

२८ मङ्सिर : प्रकाशित समाचार पढेर खड्गदलगण रोल्पाका गणपति अजय गुरुङले पूर्वी रोल्पाको एक विद्यालयलाई रु तीन लाखभन्दा बढीका शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।

गत कात्तिक १८ गते प्रकाशित राष्ट्रिय समाचार समितिद्वारा सम्प्रेषित ‘सहयोगको पर्खाइमा दलित विद्यालय’ शीर्षकको समाचार पढेर उहाँले सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँमा रहेको जनएकता आधारभूत विद्यालयलाई सो सहयोग प्रदान गर्नुभएको हो ।
गणपति गुरुङले उक्त विद्यालयलाई एक थान कम्प्युटर, प्रिन्टर, दराज, ¥याक, १० वटा लर्निड टेबलका साथै १०२ थान स्वीटर, १०२ थान स्कूल ब्याग, ४०८ कपी र सिसाकलम, दुई ह्वाइट बोर्ड, डस्टर, बोर्ड मार्कर उपलब्ध गराउनुभएको विद्यालयले जनाएको छ ।

गरीबीका कारण विद्यार्थीको पठनपाठन प्रभावित हँुदै आएको भन्ने समाचार पढेर आफूले विद्यालयलाई सहयोग गर्ने इच्छा जागेको र सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो ।
एक सय दुई विद्यार्थी अध्ययन गर्ने सो विद्यालयका सबै विद्यार्थी दलित समुदायका छन् । एक जनाबाहेक सबै शिक्षक निजी स्रोतबाट समुदायले व्यवस्थापन गर्दै आएको छ । विभिन्न समस्या भोग्दै आएको विद्यालयलाई कम्प्युटरलगायतका सामग्री हस्तान्तरण गरिएपछि पठनपाठनमा सहजता हुने विद्यालयका प्रधानाध्यापक लुमप्रसाद शर्माले जानकारी दिनुभयो । अधिकांश बालबालिका सारङ्गी रेटेर खाने दलित समुदायका बालबालिका छन् । समाचारकै कारण आफ्नो विद्यालयले सहयोग पाएकामा प्रशन्न हुँदै प्रधानाध्यापक शर्माले समाचार सम्प्रेषण गरिएकामा धन्यावाद पनि दिनुभयो ।
न्यानो कपडा किन्न सक्ने हैसियत अभिभावकमा नहुँदा जाडो मौसममा उनीहरुको पठनपाठन प्रभवित हुँदै आएकाले सबैले सहयोग गरे विद्यालयको शैक्षिक सुधारमा सहज हुने स्थानीयले बताउनुभयो ।

You can share this post!