आज शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण

काठमाडौँ । एक्काइसौं शताब्दीकै सबैभन्दा लामो पूर्ण चन्द्रग्रहण आज शुक्रबार राती नेपाली समयानुसार १२ बजेर ९ मिनेटदेखि लाग्दैछ ।

यो चन्द्रग्रहणको अवधि १ घण्टा ४३ मिनेटको रहनेछ । खासमा चन्द्रमा आफ्नो कक्षमा पृथ्वीको सबैभन्दा टाढाको दुरीमा रहेको कारण चन्द्रमाको गति सुस्त हुनेभएकै कारण ग्रहणको समयावधि लामो हुन गएको हो ।

स्मरण रहोस्, चन्द्रमाले परावर्तन गर्ने सूर्यको किरणलाई चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आइपुगेर पूर्ण रुपमा वा अर्ध रुपमा छेकिदिँदा पूर्ण वा अर्ध चन्द्रग्रहण लाग्ने गर्छ । पूर्ण चन्द्रग्रहण लाग्नका लागि चाहिँ चन्द्रमा, पृथ्वी र सूर्य एउटै सोझो लाइनमा पर्नुपर्छ ।

रमाइलो कुरा के छ भने, यो ग्रहणको दौरानमा चन्द्रमाको रंग रक्तिम देखिनेछ । खासगरी, पृथ्वीको वायुमण्डलबाट परावर्तन भएको सूर्यको किरणको कारण चन्द्रमाको रंग गाढा रातो देखिनेछ । त्यसैले यो

ग्रहणलाई ब्लड मुन, रेड मुन अथवा रक्तिम चन्द्रमा पनि भन्ने गरिन्छ । नेपालबाट यो ब्लड मुन सबैभन्दा राम्रो राति १ः१५ देखि २ः५८ बजेसम्म देख्न सकिनेछ ।

थप रोचक कुरा के छ भने, यो ग्रहणको बेलामा हाम्रा छिमेकी ग्रह मंगल पनि चन्द्रमाका नजिकै हुनेछ र आकाश सफा छ भने त्यसलाई नाङ्गो आँखाले पनि देख्न सकिनेछ ।

प्रत्येक वर्ष कम्तिमा २ वटा चन्द्रग्रहणहरु लाग्ने गर्छन् । तर यस्तो लामो अवधिको अर्को चन्द्रग्रहण चाहिँ आगामी सन् २१२३ भन्दा अगाडि लाग्ने छैन ।

खगोलीय गतिविधिहरुमा रुचि राख्नेहरुका लागि खुसीको कुरा के हो भने चन्द्रग्रहणलाई बिना कुनै उपकरण, नांगो आँखाले पनि हेर्न सकिन्छ, त्यसले आँखालाई कुनै नोक्सानी पुर्याउँदैन ।

अहिलेको चन्द्रग्रहण युरोप र एशियाका अधिकांश भाग, अस्ट्रेलिया, अफ्रिका, उत्तर अमेरिकाको दक्षिणी भाग, दक्षिण अमेरिका, प्रशान्त, हिन्द र आन्ध्र महासागर क्षेत्र र अन्टार्कटिकाबाट देख्न सकिनेछ ।

You can share this post!