कर छली मामिलामा रोनाल्डोलाई २ वर्ष जेल सजाय

एजेन्सी । कर छली मामिलामा रियल म्याड्रिडका पूर्व स्टार क्रिस्टियानो रोनाल्डोले दुई वर्ष जेल सजाय र १ करोड ९० लाख युरो जरिवाना स्वीकार गरेका छन् ।

हाल युभेन्टसमा रहेका रोनाल्डोले सन् २०११ र २०१४ को बीचमा १ करोड ४७ लाख युरो कर छलीको चार आरोप स्वीकार गरेका हुन् ।

इएफईका अनुसार रोनाल्डोको जरिवानालाई ५७ लाख युरो मात्र भए पनि फाइन, ब्याजलगायत अन्य लागतले यो १ करोड ९० लाख युरो पुगेको बताइएको छ ।

शुरुमा रोनाल्डो र उनको कम्पनी जेस्टीफुटेले सबै आरोपहरु अस्वीकार गर्दै आएका थिए ।

पहिलो पटक यो आरोपमा दोषी पाइएको हुनाले उनले जेल सजाय भने भोग्न पर्ने छैन ।

यद्यपि, स्पेनिस कानूनका अनुसार रोनाल्डोले सजायको अवधिमा यस्तै गल्ती दोहोराए जेल सजाय भोग्नुपर्नेछ ।

अझै उनको सजायलाई कन्फर्म गर्न बाँकी छ । यसका लागि रोनाल्डो आफै म्याड्रिडको पोजुएलो डे अल्कारोन अदालतमा उपस्थित हुनुपर्नेछ ।

यस्तै प्रकृतिको सजाय रोनाल्डोका चिर प्रतिद्वन्द्वी तथा बार्सिलोनाका स्टार लियोनेल मेस्सीले पनि पाएका थिए ।

मेस्सी र उनका पितालाई क्रमशः २१ र १५ महिनाको जेल सजाय सुनाइएको थियो । ४१ लाख युरो कर छलीको मामिलामा उनीहरुले पनि जरिवाना बुझाएका थिए ।

यसअघि कर छली मामिलामा एलेक्सिस सान्चेज र ह्याभियर मास्चेरानो पनि परिसकेका छन् ।

You can share this post!