विपन्न वर्गका लागि स्वास्थ्य राहत कोष स्थापना

 

कैलाली-

कैलालीको घोडाघोडी नगरपालिकाले विपन्न वर्गका लागि स्वास्थ्य राहत कोष स्थापना गरिएको छ। नगर क्षेत्रभित्रका नागरिकको स्वास्थ्यसँग सम्बन्धित समस्याको व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिकाले राहत कोष स्थापना गरेको हो।

घोडाघोडी नगरपालिकाका नगर स्वास्थ्य संयोजक हेमराज बुढाका अनुसार नगरपालिकाले कोषमा १० लाख नगद जम्मा गरेर सञ्चालनमा ल्याएको हो। उनका अनुसार राहत कोषबाट सहयोग रकम लिन पाँच जनाले आवेदन दिइसकेका छन्। तर वितरण भने गरिएको छैन।

नेपाल सरकारले अहिले विपन्न वर्गलाई क्यान्सर, हृदयघात, हेड ईन्जुरी, सिकलसेल लगायतका आठ प्रकारका रोगमा एक लाखसम्मको निःशुल्क औषधी उपचार गर्ने व्यवस्था गरेको छ। तर, नगरपालिकाले यी बाहेकका अन्य रोगमा विपन्न वर्गलाई आर्थिक सहयोग गर्ने जनाएको छ।

योसँगै नगर क्षेत्रको कुनै भाग/समुदायमा आउन सक्ने स्वास्थ्य जोखिमको तत्काल न्यूनीकरणका लागि सहयोग पुर्याउने, जनताको स्वास्थ्यमा देखिने समस्यालाई लाभग्राही निवेदकको आर्थिक अवस्थाको आधारमा राहात उपलब्ध गराउने,  नगरपालिका क्षेत्रभित्रको राजमार्गमा आउन सक्ने आकस्मिक सडक दुर्घटना पर्ने व्यक्तिलाई तत्काल सानो तिनो आकस्मिक वा सहयोग गर्ने राहत कोषको उद्देश्य रहेको नगरपालिकाले बनाएको कार्यविधीमा उल्लेख छ ।

कोषबाट रकम सहायताको निर्णय गर्न, खर्च गर्न र सहायतामा दिएको रकमको अनुगमन गर्न नगर प्रमुखको अध्यक्षतामा समिति गठन गरिएको छ। समितिले राहत लिने लाभग्राहीले पेश गरेको निवेदन र अन्य कागजात, डाक्टरको प्रेस्किपसन, विल समेतका आधारमा दिन सकिने राहतको एकिन गरी निर्णय गरेरमात्र उपलब्ध गराउने उल्लेख छ। समितिले समस्याको प्रकृती हेरी अधिकतम प्रती व्यक्ती १० हजार सम्म राहत/आर्थिक सहयोग दिने निर्णय गर्न सक्ने तर कुनै महामारी/असाध्य रोगको फैलावट नियन्त्रण बाहिर भएमा यो हद लागु नहुने कार्यविधीमा उल्लेख छ।

महामारी मा कुनै स्वास्थ्य सम्बन्धि प्रकोप आएमा कोषमा बचत रकमबाट समितिले निर्णय गरे बमोजिम रकम खर्च गर्न सकिने छ।

You can share this post!