अछाम-कालीकोट सीमा विवाद बल्झियो

अछाम-कालीकोट सीमा विवाद बल्झियो
Uncategorized

अछाम-कालीकोटको सीमा विवाद बल्झिएको छ । कालीकोटको नरीहरीनाथ गाउँपालिका र अछामको पञ्चदेवल-विनायक नगरपालिका बीचमा रहेको कर्णाली नदी छेउमा रहेको किलाभीर भन्ने स्थानका कारण सीमा विवादको उठान भएको छ ।

कालाभीड हुँदै बड्डी ढुंगासम्म कालीकोटको सीमा रहेपनि अछामको किलाभीर पनि कालिकोटमा पर्ने दावी गरिरहेका कारण विवाद कायम रहेको पञ्चदेवल-विनायक नगरपालिका-९ कालेकाँडा निवासी केशबहादुर बटालाको भनाइ छ । ‘यसअघिका विभिन्न निर्णयहरुमा किलाभीर कर्णाली भन्ने स्थान अछामको भागमा परेको प्रमाणहरु रहेपनि कालिकोटवासी दाजुभाइहरु आफ्नो भनिरहेका छन्, विवाद यसै कारणले हो ।’ बटालाले भने ।

विवादित रहेको किलाभीर भन्ने स्थान अछामका कालेकाँडावासीहरुको सालसैन सामुदायिक वनमा पर्ने बटालाले जानकारी दिए ।

कालीकोटको नरीहरीनाथ गाउँपालिका-८ का वडा अध्यक्ष लोकबहादुर विष्टका अनुसार किलाभीरमा आफ्ना अग्रजहरु हिँडेर आउने बाटो भएर आउने भएका कारण कालीकोटको भागमा पर्ने दावी गरे ।

वडाअध्यक्ष विष्टले भने, ‘जम्मा पाँच/सातसय मिटरको जग्गाको समस्या हो, कसको भाग कहाँ हो भन्ने कागजातमा प्रष्ट छ ।’
कालीकोटको खुलालु खोलाबाट किलाभीर भन्ने स्थानजोडेर कर्णाली नदीमाथि पक्की पुल बनिरहेको छ ।

नरहरीनाथ गाउँपालिका वडा नं. ८ र ९ वासीहरु आफूहरुको वन अछामका बासिन्दाहरुले जबरजस्ती आफ्नो बनाएको आरोप लाउँछन् ।

नरहरीनाथ गाउँपालिकावासीहरु कर्णाली नदी र खुलालुखोला पारी रहेको किलाभीरलाई आफ्नो भूमि भएको दावी गरिरहेका छन् ।

किलाभीरलाई दुवै जिल्लाका बासिन्दाहरुले दावी गरिरहेका कारण केही समयअघि विमलेन्द्र निधिले सिलान्यास गरेको कर्णाली पुल समेत विवादित भइरहेको छ ।

अछाम र कालिकोटका बासिन्दाहरुले किलाभीरको सीमा विवादमा जित हारको रुपमा लिएका छन् ।

पछिल्लो पटक २०५० मा कालीकोटका तत्कालीन सांसद प्रेमबहादुर सिंह, अछामका सांसद रामबहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी लगायतको सहभागितामा अछामको भानाकोटमा सम्पन्न बैठकले समेत विवाद टुंग्याएको बताइएको छ ।

०५० मा बड्डी ढुंगा भन्दा उताको भाग कालीकोट र किलाभीर अछामको भाग रहेको कागजात नै रहेको बटालाको भनाइ छ ।

विवादित भएको अछाम-कालीकोट सिमाका बारेमा १९९७ देखि यता तीन पटक दिपायल र चारपटक जुम्ला पुनरावेदनमा फैसलासमेत भएको बटालाको दाबी छ । बि.स. १९६५ बाट अछामससँग सीमा विवाद हुँदै आएको बताइएको छ ।

अछाम-कालीकोटसिमा विवादका बारेमा जानकार रहेका कालेकाँडा निवासी बटाला हालै निर्माण भइरहेको पुललाई अछाम-कालीकोट नामाकारण गरिए विवाद सकिने देखेका छन् ।

कर्णालीमाथि बन्न लागेको पुलको नाम अछाम-कालीकोट जोड्ने नाम राखिदिए समस्या सकिन्छ । यसअघि सीमा विवाद मिलाउन अछाम-कालीकोटको टोलीहरुले पाँच पटक भन्दा बढी छलफल भएको बताइएको छ ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले असारभित्रै सिमा विवाद सक्नेगरी सकारात्मक रुपमा छलफल अघि बढिरहेको बताए । ‘नापी टोलीको रिपोर्ट आएपछि असारमै विवाद सक्नेगरी बस्ने सहमझदारी भएको छ ।’ प्रजिअ गौतमले भने ।

०५० सालमा सिमाका बारेमा दुई जिल्लाको सहमती भएको आधारमा टेकेर छलफल भइरहेकाले चाँडै निश्कर्षमा पुग्न सकिने अछामका निमित्त प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले जानकारी दिए ।

यसभन्दा अघिपनि पटक-पटक उक्त सिमा विवादका बारेमा छलफल भएपनि निश्कर्षमा पुग्न सकिएको छैन ।

गएको शुक्रबारपनि कालीकोटमा भएको छलफलमा सीमा विवादको सहमति खोज्ने समझदारी सहित एक संयुक्त समिति गठन भएको छ ।

दुई जिल्लाको जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलको संयुक्त टोलीले विवादित भुभाग नापेर केही समयपछि पुनः समाधानको उपाय खोजिने छ ।

विवादमा रहेको उक्त सीमाले दुई जिल्ला मात्र नभइ प्रदेश ७ र कर्णाली प्रदेशको समेत सिमा छुट्टाउँछ ।

You can share this post!

Previous article

Next article