विश्वकप : बार्सिलोनाका प्रमुख स्पेन छाडेर अर्जेन्टिनाको समर्थनमा

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बर्टोमेउले रसिया विश्वकपमा आफ्नो समर्थन अर्जेन्टिनालाई रहने बताएका छन् ।

आफ्नो देश स्पेनलाई छाडेर अर्जेन्टिनाको समर्थन गर्नुको एक मात्र कारण भने लियोनल मेसी रहेको उनले बताएका छन् ।

स्पेनिस टेलिभिजनसँगको कुराकानीमा उनले भनेका छन्, ‘चार वर्षअघिको भन्दा यसपटक अर्जेन्टिनाको लागि राम्रो होस् । बार्सिलोनाका नम्बर १० जर्सीका मेसीले यो पटक विश्वकप जितुन् । यसले उनको उपाधि सपना पूरा गर्ने छ ।’

उनले मेसीले जित्न बाँकी ठूलो उपाधि विश्वकप नै रहेको र यसपटक त्यो उपाधि उचाल्ने विश्वास पनि व्यक्त गरे । ‘मलाई विश्वास छ मेसीले यसपटक जित्ने छन् । विश्वकै उत्कृष्ट खेलाडी मेसीले उपाधि उचाल्ने छन्’ उनले भने ।

अर्जेन्टिना विश्वकपमा क्रोएसिया, आइसल्याण्ड र नाइजेरियासँगै समूह ‘डी’ मा रहेको छ ।

You can share this post!