प्रदेश नं ७ को सरकारद्वारा विज्ञहरुको राय सुझाव संकलन । 

कैलाली, २२ जेठ (रासस) ः प्रदेशको समग्र विकास तथा समृद्धिका लागि भन्दै प्रदेश सरकारले यहाँका विज्ञहरुसँग आज यहाँ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

प्रदेशको दिगो विकास एवं समृद्धिको सम्भावना तथा चुनौती विषयकमा विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । प्रशस्त सम्भावना हुँदाहँुदै पनि विकासको सवालमा पछाडि रहेको प्रदेश नं ७ लाई समृद्ध बनाउन केके गर्न सकिन्छ भनेर विज्ञहरुको सुझाव लिन कार्यक्रमको आयोजना गरिएको प्रदेश सरकारले जनाएको छ ।

कार्यक्रममा कृषि, पर्यटन, जलस्रोत, जडीबुटी, सुशासन लगायतका सन्दर्भमा विज्ञहरुले आ–आफ्नो धारणा राख्नुभएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य जनकराज शाहले सुदूरपश्चिम विकासका लागि अहिलेसम्म बनेका नीति नियमको प्रभावकारी कार्यान्वयन हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको विकासका लागि छुट्टै नीति बनाएर मात्र पुग्दैन, बनेका विकासे नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा नियमन गरौँ, समृद्ध प्रदेश धेरै टाढा छैन ।”

समाजिक क्षेत्रका विज्ञ एवं पूर्वसचिव महेन्द्रप्रसाद श्रेष्ठले सामाजिक चेतनाको विकासका लागि अब अन्तरक्रिया र गोष्ठी गरेर मात्रै पुग्दैन, समुदायमा प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम तय गर्न जरुरी रहेको बताउनुभयो ।

यस्तै, विज्ञ तथा संघीय संसद्का सांसद डा दीपकप्रसाद भट्ट प्रदेशको समृद्धिका लागि पर्यटन सबैभन्दा उत्तम रहेको धारणा व्यक्त गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेकपाका द्वय स्थायी कमिटी सदस्य भीम रावल, लेखराज भट्टसहित विभिन्न विधामा पोख्त यस क्षेत्रका २० जना विज्ञको सहभागी रहेको थियो ।
–––

You can share this post!