झन्डै ४ अर्ब खर्चमा यस्तो बन्दैछ २२ तलाको धरहरा

झन्डै ४ अर्ब खर्चमा यस्तो बन्दैछ २२ तलाको धरहरा

२०७२ सालको भूकम्पले पु-याएको क्षतिमध्ये हामीले भुल्न नसक्ने एउटा सम्पदाको नाम हो धरहरा । काठमाडौंको ल्यान्ड मार्कका रूपमा रहेको धरहरा भत्किएको ३ वर्ष पूरा हुँदा पनि यसको पुनर्निर्माण गर्न कुनै सुरसार भएन । कस्तो बनाउने, कसरी बनाउने, कति लगानी गर्ने, कसले लगानी गर्ने ? भन्ने जस्ता प्रश्नको जालोमा अल्झिएको धरहरा पुनर्निर्माणको काम अब भने अगाडि बढ्न खोजेको छ ।

धरहरा निर्माणका लागि विभिन्न क्षेत्रले चासो दिए पनि अन्ततः नेपाल सरकारले नै आफ्नै लगानीमा निर्माण गर्ने भएको छ । यसअघि नेपाल टेलिकमले धरहरा बनाउने प्रस्ताव अघि सारेर डिजाइन समेत सार्वजनिक गरेको थियो । धरहरा निर्माणका लागि १ अर्ब लगानी गर्ने बताएको टेलिकम पछि हटेपछि सरकारले नै यसलाई अघि बढाउने निर्णय गरेको हो ।

टेलिकमले आफ्नो व्यावसायिक प्रयोजन गर्ने अभिप्रायः राखेको थियो । अर्कोतिर टेलिकमसँग यति ठूलो भौतिक संरचना बनाएको अनुभव नभएको, उसलाई कठिन पर्ने भएपछि छोडेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा संरक्षण, सार्वजनिक भवन पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।

नयाँ धरहरा निर्माणका लागि अन्तर्राष्ट्रिय रूपमा बोलपत्र अह्वानसमेत भइसकेको छ । अबको झन्डै तीन सातापछि बोलपत्र खोलिने र ठेकेदार कम्पनी छनौटलगतै काम अघि बढ्ने राष्ट्रिय प्राधिकरणका सहसचिव मानन्धरले रातोपाटीलाई जानकारी दिए । धरहरा निर्माणका लागि अघिल्लो पटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले नेपालीको लगानीबाटै धरहरा बनाउन ‘म बनाउँछु मेरो धरहरा’ भन्ने अभियान सुरु गरेका थिए । यसका लागि छुट्टै बैङ्क खातासमेत सञ्चालनमा ल्याइएको थियो । यो अभियानबाट हालसम्म २४ करोड रुपियाँ सङ्कलन भएको छ ।

यस्तो हुनेछ २२ तलाको धरहरा 
धरहरा निर्माणका लागि प्राधिकरणले ‘ड्रइङ तथा डिजाइन’ गरिसकेको छ । नयाँ डिजाइनअनुसार अहिले भएको धराहराबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ धरहरा निर्माण गरिनेछ । तर यो पहिलेको जस्तो ९ तलाको हुनेछैन । नयाँ धरहरा २२ तलाको बनाइने भएको छ ।

प्राधिकरणका सहसचिव मानन्धरले भने– ‘पहिलेको धरहरा ९ तले भए पनि तलाको उचाइ निकै अग्लो थियो । तर अब बन्ने धरहराको तलाको उचाइ पहिलेको भन्दा कम हुनेछ । २२ तलाको भए पनि पहिलाको धरहराभन्दा केही बढी मात्र उचाइ हुनेछ ।’

बोलपत्रमार्फत ठेकेदार कम्पनी छनौट गरेपछि २ वर्षभित्र धरहरा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सुन्धरामा रहेको गोश्वारा हुलाक कार्यालय हटाइने छ भने वाणिज्य बैङ्क रहेको तत्कालीन सिक्का छाप्ने टक्सार भवन पनि भत्काइने छ । सो ठाउँमा सङ्ग्रहालय बनाइने योजना छ । धरहरा रहेको सुन्धरामा २४ रोपनी जमिन रहेको छ, जहाँ धरहराका साथै मनोरम बगैँचा समेत निर्माण गरिने योजना छ । धरहरा पुनर्निर्माणको काम अघि बढाउन सार्वजनिक जगामा बनेका घर टहरामा सञ्चालित घर टहरासमेत भत्काइएको छ ।

भत्किएको धरहरालाई सिसाको फ्रेमभित्र राखिने


नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा रहेका तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा झन्डै साढे २ सय वर्षअघि निर्मित धरहरा भूकम्पका कारण दुई पटक भत्कियो । वि.सं. १९९० मा भत्किएको धरहरा पुनर्निर्माण गरिएको थियो तर २०७२ सालको भूम्पकले त्यसलाई पूर्ण रूपमा क्षति पु¥यायो । अहिले धरहराको खण्डहर फेद मात्र बाँकी छ ।

भूकम्पले ध्वस्त पारेको यो ऐतिहासिक सम्पदालाई पुरानै निर्माण सामग्रीले पहिलेकै अवस्थामा पुनर्निर्माण गर्न नसकिने भएपछि भत्किएको खण्डहरलाई सिसाको फ्रेमभित्र राखिने तयारी भएको छ । एक महिनाभित्र खण्डहरलाई प्लास्टिकभन्दा बलियो सिपोलियन ओडाएर तत्कालका लागि संरक्षण गर्ने र छेउमा अर्को धरहरा बनेपछि यसलाई सिसाको फ्रेमभित्र राखिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए ।
नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाउन भन्ने उद्देश्यले उक्त घण्डहरलाई जोगाउन सिसाको फ्रेमभित्र राखिन लागिएको हो ।

३ तले गाडी पार्किङ भवन 
धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल बनाइने भएको छ । हाल कायम रहेको गोश्वारा हुलाक कार्यालय भएको स्थानमा ३ तले सवारी पार्किङ स्थल बनाउन लागिएको हो ।

धरहरा पार्कमा आउने तथा बाहिरका सवारी साधन त्यहाँ पार्क गर्न सकिने छ । जसले सुन्धरा, न्युरोड, रत्नपार्क क्षेत्रमा भइरहेको पार्किङ समस्या समाधान हुनेछ । मानन्धरले भने–‘यसले केही हदसम्म भए पनि काठमाडौंको पार्किङ समस्यालाई हल गर्नेछ भन्ने हेतुले ३ तले पार्किङस्थल बनाउन लागिएको हो । जसको अन्डरग्राउन्डमा म्युजिकल फाउन्टेल निर्माण गरिने योजना छ ।’ हुलाक कार्यालय डिल्लीबजार चरखालमा सर्दैछ । त्यसका लागि सरकारले १५ रोपनी जग्गा दिएको छ ।

धरहरा प्रवेशका लागि अहिले भएको गोश्वारा हुलाक कार्यालयबाट प्रवेशद्वार हुनेछ । प्रवेश गरेपछि त्यहाँबाट दुई तलामुनि गएर लिफ्टबाट २२ तलाको धरहराको माथिल्लो भागमा पुगिनेछ । धरहराको गजुर नै ६९ दशमलव २ मिटर अग्लो हुने मानन्धरले जानकारी दिए ।

सुन्धाराको धारालाई सामान्य मर्मत गरिनेछ, त्यसको पुरातात्विक महत्वलाई बिग्रन नदिई त्यस ठाउँलाई रमरणीय बनाइने योजना राखिएको छ । पर्यटकलाई आर्कषण गर्नेगरी आर्कषक स्थल बनाउने लक्ष्य लिइएको उनले बताए । पहिलेको धरहरामा असुरक्षित रूपमा चढाइने गरेको र पर्यटकहरू पनि कम हुने गरेको थियो । अब बन्ने धरहरा भूकम्प प्रतिरोधी आधुनिक निर्माण सामग्रीले निर्माण हुनेछ ।

हालै जारी नयाँ आर्थिक वर्षको बजेटमा धरहरा लगायतका पुरातात्विक सम्पदाको पुनर्निर्माणका लागि तोकेर बजेट विनियोजन भने गरिएको छैन । बजेटमा पुनर्निर्माणका लागि अघि बढाइएका आयोजनाहरू तोकिएको समय पूरा गर्नका लागि १ खर्ब ५१ अर्ब ८ करोड १३ लाख रुपियाँ छुट्याइएको छ ।

(rato pati)

You can share this post!