‘केरुङसम्म रेल आएपछि व्यापार घाटामा उल्लेखनीय कमी’

चालु आर्थिक वर्षमा नेपालबाट चीनतर्फ वस्तु निर्यात झण्डै ६० प्रतिशतले बढेपछि उत्साही बनेका व्यवसायीले आगामी दिनमा त्यो झन् बढ्ने विश्वास व्यक्त गरेका छन्।

सामान निर्यातमा विश्वमा अग्रणी चीनले बढाएको आयातको लाभ नेपालले लिन सक्ने उनीहरूको ठम्याइ छ।

चीनसँगको व्यापार घाटाको तुलनामा निर्यात वृद्धि निकै कम नै हो।

तर निर्यात गरिने थप वस्तुको विस्तृत अध्ययन भइरहेको बताउने सरकारी अधिकारीहरूमा चीनले नेपालसँगको सीमावर्ती केरुङसम्म रेल ल्याएपछि त्यसले व्यापार घाटा पूर्तिमा टेवा पुर्‍याउने महत्त्वाकांक्षा देखिन्छ।

नेपाल राष्ट्र ब्यांकका अनुसार यो आर्थिक वर्षको नौ महिनामा नेपालबाट चीनतर्फको निर्यात ५८.९ प्रतिशतले वृद्धि भएको छ।

गुणस्तर

रकमका हिसाबले गत आर्थिक वर्षको नौ महिनामा डेढ अर्ब रुपैयाँ बराबर समेत नभएको निर्यात यसपटक दुई अर्ब नाघेको छ।

नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठ अब त्यो अङ्क उकालो लाग्ने विश्वासमा देखिन्छन्।

उनी भन्छन्, “चीनमा आयोजित विभिन्न मेलामा गएर व्यापार प्रवर्द्धन गर्‍यौं। अब निर्यात झन् बढ्छ। तर हामीले आपूर्ति र गुणस्तर कायम राख्नुपर्छ।”

त्यसको निम्ति सरकारले भूकम्पपछि क्षति पुगेका नाका र बाटो लगायतका पूर्वाधार पूनर्निर्माणमा ध्यान दिनुपर्ने उनी बताउँछन्।

र, सरकारले अरु देशमा निर्यात गर्दा दिने गरेको जस्तै प्रोत्साहन चीनका सन्दर्भमा पनि दिनुपर्ने खाँचो रहेको उनको भनाइ छ।

तयारी

बढेको निर्यातमा गहुँको मैदा र पिठो, चिया, हस्तकला, चाउचाउ र पस्मिनाका सामानको योगदान बढी देखिन्छ।

त्यसैले अन्य सामान निर्यातको सम्भावना नखोज्दा कतिपयले त्यो वृद्धि अस्थायी हुनसक्ने ठान्छन्।

त्यसै पनि एक खर्ब रुपियाँभन्दा बढी रहेको चीनसँगको व्यापार घाटामा २ अर्बको निर्यातबाट सन्तुष्ट हुने ठाउँ देखिन्न।

तर व्यापार घाटालाई सन्तुलनमा ल्याउने गरी निर्यातको सम्भावना छोप्ने तयारीमा जुट्नुपर्ने बेला आइसकेको सरकारको भनाइ छ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार त्यसको निम्ति विस्तृत अध्ययन पनि भइरहेको छ।

रेलको आशा

मन्त्रालयमा वणिज्य हेर्ने निमित्त सचिव रविशंकर सैंजुले भने, “कुन सामानको निर्यात बढाउन सकिन्छ, उनीहरूको आवश्यकता के हो भन्ने विषयमा अध्ययन भइरहेको छ। व्यापार घाटा कम गर्न योगदान दिने गरी त चिनियाँहरूले केरुङसम्म रेल ल्याउँदासम्म दीर्घकालीन योजना बनाइ सक्नुपर्छ। सकिन्छ जस्तो लाग्छ।”

चीनले सन् २०२० को अन्त्यसम्ममा नेपाली सीमा नजिकको केरुङसम्म रेल ल्याउने लक्ष्य घोषणा गरेको छ।

अहिले चिनियाँले नेपाली उत्पादन आयात गर्नाका साथै आफैले पनि तिनमा लगानी गर्ने गरी चासो देखाइरहेको अधिकारीहरू बताउँछन्।

निर्यातमा विश्वमै अघि देखिएको चीन आयातमा पनि अग्रभागमा देखिएकाले नेपालले त्यसबाट फाइदा लिनसक्ने अवस्था रहेकोमा व्यवसायी र अधिकारीहरूमा एकमत पाइन्छ।

You can share this post!