उत्तर कोरियाद्वारा दक्षिणसँगको वार्ता रद्द

 

 

सोल. जेठ २

उत्तर कोरियाले दक्षिण कोरियासँग हुने भनिएको उच्चस्तरीय शिखर वार्ता रद्द गरेको छ। बुधबार दुई देशबीच उच्चस्तरीय शिखर वार्ता हुने तयारी थियो।

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास जारी राखेको भन्दै उत्तर कोरियाले बुधबारको वार्ता रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएका अनुसार अमेरिका र दक्षिण कोरियाबीच भइरहेको साझा सैन्य अभ्यास उक्साउने खालको रहेको छ।

यसैबीच आगामी जुन १२ मा हुने तय भएको किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको वार्तामा पनि संका उत्पन्न भएको केसिएनएले जनाएको छ। यस्तै अवस्था रहने हो भने वार्ताको वातारण बिग्रने चेतावनी उत्तर कोरियाले दिएको छ ।

सीमा क्षेत्रको डिमिलिट्राइज जोन, पानमुनजोममा उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबिच बुधबार वार्ता हुने तयारी थियो। उच्च स्तरीय शिखर वार्ता हुनेबारे गत साता दुई देशबीच सहमति भएको थियो।

अप्रिल २७ मा भएको किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनबिचको वार्ताको फलो अपका रूपमा हेरिएको वार्ता उत्तर कोरियाले एक्कासी रद्द गरेको हो।

बुधबार हुने वार्तामा दुवै देशका प्रमुख नेताबीच भएको वार्तामा बनेका सहमतिलाई अघि बढाउने विषयमा छलफल गर्ने तयारी थियो।

पानमुनजोम कोरियाली प्रायद्विपको एउटा मात्रै त्यस्तो क्षेत्र हो जहाँ उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकी सेनालाई देख्न पाइन्छ। यो क्षेत्रमा सन् १९५३ देखि युद्ध विराम लागू भएको बिबिसीले जनाएको छ।

यसअघिको दुई देशीचको उच्चस्तरीय वार्तामा नेता किम र मुनले कोरियाली प्रायद्विपलाई परमाणु हतियार मुक्त बनाउने विषयमा आफूहरु सहमत भएको बताएका थिए।

वार्तामा सन् १९५३ को युद्ध विरामलाई शान्ति सम्झौतामा परिणत गर्ने सहमति समेत बनेको थियो।

दक्षिण कोरिया र अमेरिकी सेनाले वर्षेनी गर्दै आएको संयुक्त सैन्य अभ्यास अहिले पनि गरिरहेको भन्दै उत्तर कोरिया रूष्ट भएको हो।

अमेरिका र दक्षिण कोरियाले शुक्रबारबाट ‘मेक्स थन्डर’ नामक संयुक्त युद्ध अभ्यास सुरु गरेका थिए । बी–५२ बम वर्षक विमान र एफ–१५ जेट विमानसमेत करिब १ सय लडानु विमान अभ्यासमा छन् ।

सन् १९५३ मा भएको द्वीपक्षीय सम्झौताअनुसार अमेरिका र दक्षिण कोरियाले यस प्रकारको युद्ध अभ्यास गर्दै आएका छन् । तर उत्तर कोरियाले भने त्यसको विरोध गर्दै आएको छ ।

सन् २०१८ लागेसँगै दुई कोरिया तथा उत्तर कोरिया–अमेरिका सम्बन्धमा सुधारका संकेतहरु देखिएका थिए। तर, अहिले आएर वार्ता रद्द हुँदा फेरि दुई कोरियाबीच समस्या बढ्ने खतरा देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भनेका छन्।

You can share this post!