‘पाँडे’का साथीः पैसा सापटी चल्छ, लुगा चल्दैन

टेलिसिरियल ‘भद्रगोल’ मा पाँडे बुढाको फटाहा र एकलकाँटे चरित्रमा अभिनय गर्दै आएका अर्जुन घिमिरे वास्तविक जीवनमा भने  निकै मित्रवत छन् । उनको साथीभाईको सर्कल पनि ठूलो छ । अर्जुनको मिल्ने साथी भन्नेबित्तिकै जिग्री (कुमार कट्टेल) को नाम आउने नै भयो । तर, कुमार मात्र होइन, उनीजत्तिकै मिल्ने अरु ५ जना साथीहरु रहेको घिमिरेले बताए । आफ्ना मिल्ने साथीहरुको विषयमा उनी यसरी सुनाउँछन्: 

मेरो मिल्ने साथी एक जना मात्रै हैन, पाँच जना छन् । सबैको नाम चाहीँ नभनौ होला ।

हामी सबैको कुरो मिल्छ, आनीवानी पनि मिल्छ, त्यसैले हामी मिल्ने साथी भयौं । यदि आनीवानी नमिल्ने भएको भए हामी साथी हुनै सक्दौन थ्यो । हाम्रो सम्बन्धमा शंका गर्नुपर्ने त्यस्तो कुनै कारण छैन ।

हाम्रो भेट हाँस्य सिरियल ‘भद्रगोल’को सिलसिलामा भएको थियो । कामलाई कसरी सबैभन्दा राम्रो र प्रभावकारी बनाउने भन्नेमा हामीबीच गम्भिर छलफल हुन्छ । त्यस्तो अवस्थामा कहिलेकाहीँ भनाभन पनि हुन्छ । तर, हामीलाई सहमतिमा आउन वेर लाग्दैन । छलफलमा केही समस्या भयो भने समाधान पनि हामी आफैं निकाल्छौं । अहिलेसम्म कुरा नमिलेर बोलचाल बन्द भएको रेकर्ड छैन । कुराकानीको क्रममा केही चास्स चुस्स भयो भने हामी आफैं मिलाई हाल्छौं ।

हामीबीच पारिवारिक-व्यवसायिक सबै कुरा शेयर हुन्छ । आज के तरकारी खायौ भन्नेदेखि कसैको घरमा कोही बिरामी भएको छ भने पनि जानकारी हुन्छ । एक-अर्काबीच सरसापटी पनि चल्छ । मसँग पैसा हुँदा साथीलाई, साथीसँग भएको वेला मलाई दिने चलन छ । सरसापटी चलेन भने त के को साथीभाई ? तर, लुगा भने अहिलेसम्म साटेर लगाइएको छैन ।

कसैले हामी पाँचमध्ये कसैको बारेमा नराम्रो कुरा सुनायो भने पनि हामी सुन्दैनौ । सँगै यात्रा धेरै गरेका छौं । सुटिङमै पनि हामी प्राय सँगै आउजाउ गर्छौ । हाम्रो भेटघाट धेरैजसो कुमार कट्टेलजीको घरमा हुन्छ ।

हामी सबै जनाको सवैको परिवारसँग उत्तिकै राम्रो छ । स-परिवारै एक अर्काको घरमा गएर खाना खाने गरेका छौं । जो-जो साथीहरुको प्रेमिका हुनुहुन्छ, हामी राम्रै चिन्छौं । सम्बन्ध राम्रो छ । गुपचुप प्रेम गर्नेहरुको वारेमा त थाहा हुने कुरै भएन ।

एक अर्कालाई तँ, तिमी, तपाई सबै चल्छ । सुरुदेखि जसले जे भनेर सम्बोधन गरेका छौं त्यही नै अहिलेसम्म चलिरहेको छ ।

हामीबीच भेट नभएको बेला फेसबुकमा कुरा हुन्छ । अहिलेसम्म सिंगै टिम मिलेर बद्मासी गर्ने अवसर प्राप्त भएको छैन ।

You can share this post!